काठमाडौं । देशभर प्रि-मनसुन प्रणाली सक्रिय भएपछि मौसममा व्यापक परिवर्तन देखिएको छ । विशेषगरी पूर्वी तराईका जिल्लाहरूमा रातिदेखि नै मेघगर्जन, चट्याङ र हल्का हावाहुरीसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मोरङ, सप्तरी, सिरहा, उदयपुर, धनुषा, सर्लाही, बारा र सिन्धुलीलगायतका स्थानहरूमा यो प्रभाव अझ प्रस्ट देखिएको छ । काठमाडौं उपत्यकासहित देशका अन्य भूभागहरूमा पनि दिउँसोतिर वर्षा हुने सम्भावना रहेको महाशाखाले बताएको छ ।
हाल देशमा पश्चिमी वायु, स्थानीय वायुप्रणाली र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको असरले गर्दा व्यापक रूपमा मौसम बदली भइरहेको छ । यो समय प्रि-मनसुनको चरण भएकाले देशका विभिन्न स्थानहरूमा चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षासम्मको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।
साथै, मौसममा आकस्मिक परिवर्तन आउन सक्ने भएकाले सतर्क रहन र आवश्यक सुरक्षात्मक उपायहरू अपनाउन आम नागरिकलाई अनुरोध गरिएको छ।
