काठमाडौं । प्रतिनिधसभाका सभामुख देवराज घिमिरेले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूटमा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साहको रहस्यमय मृत्युको घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारलाई निर्देशन दिनुभएको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उक्त घटनामा सरकारले बिशेष ध्यान दिनुपर्ने धारणा राखेपछि समाभुख घिमिरेले उक्त घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन लागि भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन निर्देशन दिनुभएको हो ।
उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न भएको उहाले बताउनुभयो । सभामुख घिमिरेले पीडित परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न समेत सरकारलाई निर्देश गर्नुभयो ।
उहाले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन नीतिगत पहलहरू अवलम्बन गर्न अपिल गर्नुभयो । त्यसअघि बैठकको आकस्मीक समयमा सांसदहरुले कलिंगा इन्स्टिच्यूटमा दुई जना नेपाली बिद्यार्थीको रहस्यमय मृत्यु हुदा पनि सरकारले केहि पहल नगरेको भन्दै आपत्ति जनाएका थिए ।
कांग्रेस सांसद रामकृष्ण यादवले कलिंगा इन्स्टिच्यूटमा भएको घटनाको छानविनका गर्दै दोषिमाथि कारवाहीका लागि नेपाल सरकार र भारत सरकारको ध्यानाकर्षण गर्नुभयो । त्यस्तै माओवादी सांसद देवेन्द्र पौडेलले कलिंगा इन्स्टिच्यूटमा भएको घटनाले विदेशमा पढ्न जाने विद्यार्थीहरुको सुरक्षामाथि नै प्रश्न खडा भएकाले सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।
निरन्तर नेपाली विद्यार्थीहरु पीडामा परेकाले उक्त घटनाको छानविन गर्न सरकारले पहल गर्नुपर्ने उहाले बताउनुभयो । त्यस्तै सांसद अमरेशकुमार सिंहले कलिंगा इन्स्टिच्यूटमा दुई छात्राको रहस्यमय मृत्यु हुँदा पनि सरकार मौन रहेको भन्दै आपत्ति जनाउनुभयो ।
उहाले उक्त घटनाको न्यायीक छानविन गर्न माग गर्नुभयो । त्यस्तै अन्य सांसदहरुले पनि भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूटमा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साहको रहस्यमय मृत्युको घटनाको कुटनीतिक तवरबाट छानविन गर्न माग गरेका थिए ।
