काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लोटरी २०२६ को नतिजा सार्वजनिक भएको छ । अमेरिकी विदेश मन्त्रालय अन्तर्गतको कन्सुलर अफेयर्स ब्यूरोले शनिबार डिभीको नतिजा अनलाइनमार्फत सार्वजनिक गरेको हो ।
डिभीमा सहभागी भएका आवेदकहरूले आफ्नो नतिजा थाहा पाउन मन्त्रालयको आधिकारिक वेबसाइटमा गएर कन्फर्मेशन नम्बर, नाम र जन्म वर्ष प्रविष्ट गर्नुपर्छ । यसपछि उनीहरू छनोट भएरनभएको जानकारी प्राप्त गर्न सक्छन् । यदि छनोट भएका छन् भने, भिसा प्रक्रिया कसरी अगाडि बढाउने भन्ने जानकारी पनि त्यहीँबाट पाइनेछ ।
डिभी विजेताहरूले सन् २०२५ को अक्टोबर १ देखि भिसा प्रक्रिया सुरु गर्न सक्नेछन् । भिसा प्राप्त गर्नको अन्तिम म्याद सन् २०२६ को सेप्टेम्बर ३० सम्म हुनेछ । गत वर्ष अक्टोबर २ देखि नोभेम्बर ७ सम्म आवेदन दिएका सहभागीहरूले हालै खुलेको पोर्टलमार्फत आफ्नो नतिजा सजिलै चेक गर्न सक्छन् ।
