काठमाडौं । अमेरिकाले विकासशील देशहरूलाई अनुदान सहायता दिँदै आएको चर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना बन्द गर्ने निर्णय गरेको छ । यो निर्णयले नेपाललगायत २० देशमा सञ्चालित परियोजनाहरूमा प्रत्यक्ष असर पर्ने देखिएको छ ।
अमेरिकी सञ्चारमाध्यम सीएनएन का अनुसार, परियोजना केही महिनाभित्रै पूर्ण रूपमा बन्द हुनेछ । डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसिएन्सी (DOGE) का प्रमुख एलन मस्कको पहलमा खर्च कटौती गर्न एमसीसी बन्द गर्ने निर्णय लिइएको जनाइएको छ ।
एमसीसी परियोजनामा कार्यरत कर्मचारीलाई मंगलबार इमेलमार्फत सूचित गरिएको छ । केही कर्मचारीलाई मे ५ बाट प्रशासकीय बिदामा राखिने तयारी भइरहेको खबरमा उल्लेख छ ।
नेपालमा सडक निर्माण र विद्युत प्रसारण लाइन विस्तारका काम एमसीसी अन्तर्गत एमसीए नेपाल मार्फत भइरहेको छ । तर यो परियोजना बन्द भएमा काम रोकिने वा ढिलाइ हुने प्रष्ट छ । सन् २००४ मा अमेरिकी कङ्ग्रेसले तत्कालीन राष्ट्रपति जर्ज डब्लु. बुशको कार्यकालमा एमसीसी स्थापना गरेको थियो ।
हालसम्म २० भन्दा बढी निम्न आय भएका देशहरूमा ५.४ अर्ब डलरभन्दा बढीको अनुदान दिइसकेको छ । यद्यपि, आलोचकहरू एमसीसीलाई अमेरिकी सैन्य रणनीतिसँग जोडेर हेर्ने गर्छन् । नेपालमै पनि यसबारे लामो समय बहस र विवाद भइरहेकै थियो ।
