काठमाडौं । प्रतिनिधिसभाको आगामी अधिवेशनमा सार्वजनिक विदाका दिन बाहेक अन्य सवै दिन बैठक सञ्चालन हुने भएको छ । बुधबार सिंहदरबारमा प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख देवराज घिमिरेले शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव गर्नुभएको हो ।
सभामुख घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको थियो । त्यस्तै उहाले विद्यालय शिक्षा विधेयक सदनमा आएपछि प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा समेत जोड दिनुभएको थियो ।
बैठकले सभामुखको प्रस्ताव अनुमोदन गरेको छ । सोहीबमोजिमको क्यालेन्डरबारे वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो । उहाले विद्यालय शिक्षा विधेयक सदनमा पेश भए त्यसलाई पनि प्राथमिकतामा आधारमा अघि बढाउने सहमति भएको बताउनुभयो ।
त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले वैशाख १२ गते बस्ने पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको जानकारी दिनुभयो । त्यस्तै बैशाख १९ गते सरकारले नीति तथा कार्यक्रम पेश गर्ने र त्यसपछि केहि महत्वपूर्ण विधेयकलाई टुङ्गाउने गरि अघि बढ्ने उहाले बताउनुभयो ।
बर्तौलाले विद्यालय शिक्षा विधेयकमा सदन पेश हुने बितिकै पारित गर्ने बिषयमा सहमति भएको जानकारी दिनुभयो । उप समितिले वैशाख २३ सम्मको समयावधिभित्रै विद्यालय शिक्षा विधेयक प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा यसलाई प्राथमिकता दिने गरी संसदले तयारी गरेको नेताहरुले जनाएका छन् ।
