काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको आत्मसम्मान, समानता र सामाजिक न्यायको पक्षमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । ५९औँ जातीय विभेद उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले संविधानमा छुवाछुत विरोधी व्यवस्था गरेपनि यथार्थमा अहिले पनि विभेद कायम गरेको भन्दै दलित समुदायको आत्मसम्मान, समानता र सामाजिक न्यायको पक्षमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।
उहाले परिवर्तन ल्याउनको लागि आफुले सवैभन्दै धेरै अपिल दलित समूदायलाई गरेको र पहिलो साथ दलित समूदायले नै दिएको धारणा राख्नुभयो । प्रधानमन्त्री प्रचण्डले सयौं बर्षदेखि दलित समूदायमाथि भएको विभेदको क्षतिपूर्ति राज्यले दिनुपर्छ भन्ने पक्षमा आफु रहेको बताउनुभयो । दलित समूदायको समग्र बिकासका निम्ति प्राधिकरण गठन गर्ने आफ्नो तयारी रहेको उहाले बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले जातीय छुवाछूत तथा विभेदलाई कडा दण्डनीय अपराधका रूपमा लिई यसमा संलग्न अपराधीहरूलाई कानुनी दायरामा ल्याउनु राज्यको दायित्व भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले जातीय छुवाछूतजस्तो अपराधलाई उन्मूलन गर्न कानुनी प्रावधानहरू कडा पार्नुका साथै सामाजिक जागरण र राजनीतिक अभियान चलाउनुपर्ने बताउनुभयो ।
यस वर्ष नेपालको नारा ‘आत्मसम्मान, समानता र सामाजिक न्यायसहितको समृद्धका लागि राजनीतिक हक ! जातीय छुवाछूत तथा सबै प्रकारका विभेद अन्त्यका लागि दलितअधिकार दशक’ रहेको छ । संयुक्त राष्ट्रसङ्घले सबै प्रकारका जातीय भेदभाव उन्मूलन गर्ने संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय महासन्धि, १९६५ पारित गरी २१ मार्चलाई सन् १९६६ मा अन्तर्राष्ट्रिय रङ्गभेद उन्मूलन दिवसको रूपमा मनाउने घोषणा गरेको थियो ।



