वीरगञ्ज । वीरगञ्जको ऐतिहासिक तथा धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण शक्तिपीठ गहवामाई मन्दिरबाट आज (शनिबार) गहवामाई माताको दोस्रो डोली यात्रा विशेष पूजापाठसहित भव्य रूपमा आयोजना गरिँदैछ ।
चैते दशैंको अष्टमीको अवसर पारेर गहवामाई मन्दिर व्यवस्थापन समितिको संयोजनमा यो डोली यात्रा निकाल्न लागिएको हो । समितिका अध्यक्ष नरेन्द्र साहका अनुसार डोली यात्राको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
यात्रा दिउँसो ४ बजे सुरु हुनेछ
आज दिउँसो २ बजे गहवामाई माताको डोली र माताको निशानको विशेष पूजापाठ गरी अपरान्ह ४ बजे डोली यात्रा मन्दिर प्रांगणबाट सुरु हुनेछ । यात्रा वीरगञ्जको २ नम्बर रोड, वीर्ता मन्दिर, अलखीयामठ, महावीरस्थान हुँदै माईस्थान चोकको परिक्रमा गरी पुनः गहवामाई मन्दिरमै आएर समापन हुने कार्यक्रम तय गरिएको छ ।
डोली यात्रामा सहभागी हुन आउने भक्तजनलाई गहवामाई माताको तस्वीर अङ्कित निशान प्रदान गरिनेछ । यस वर्षको लागि प्रति निशान ३५० रुपैयाँ शुल्क तोकिएको छ । समितिका अनुसार गत वर्ष पहिलो डोली यात्रामा झण्डै ६५० वटा निशान वितरण गरिएको थियो भने यसपालि त्यस संख्या अझ बढ्ने अपेक्षा गरिएको छ ।
साँझ महाआरतीको आयोजना
डोली यात्रापछि साँझ मन्दिर प्रांगणमा भव्य महाआरती कार्यक्रम पनि आयोजना गरिनेछ । यस महाआरतीमा स्थानीय पूजारी, समिति सदस्यहरू, श्रद्धालु तथा धार्मिक संघसंस्थाहरूको विशेष सहभागिता रहनेछ ।
अध्यक्ष नरेन्द्र साहले भक्तजनहरूलाई आस्था र श्रद्धासाथ यो भव्य धार्मिक यात्रामा सहभागी भई गहवामाई माताको कृपा प्राप्त गर्ने अवसर नछुटाउन आग्रह गरेका छन् । यो डोली यात्रा न केवल धार्मिक आस्था प्रकट गर्ने अवसर हो, तर वीरगञ्जको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास स्थानीयहरूले गरेका छन् ।
