काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी अब पार्टीका उपसभापति डोलप्रसाद (डीपी) अर्यालले सम्हाल्ने भएका छन् । उच्च अदालतको आदेशसँगै पार्टी सभापति रवि लामिछाने शुक्रबार राति पक्राउ परेपछि अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएको हो ।
लामिछानेलाई पार्टी सभापतिको जिम्मेवारीबाट अस्थायी रुपमा मुक्त गरिएपछि, अर्यालले उक्त जिम्मेवारी पाएका हुन् । अर्याल को कार्यवाहक सभापतिको नियुक्ति शुक्रबार राति भएको केन्द्रीय सचिवालयको भर्चुअल बैठकले अनुमोदन गरेको थियो ।
यसअघि पनि लामिछाने हिरासतमा हुँदा अर्यालले कार्यवाहकको भूमिका निभाएका थिए । केही दिनअघि मात्रै लामिछाने पार्टीको कार्यकारी नेतृत्वमा फर्किएका थिए ।
संगठित सहकारी ठगीको आरोपमा रहेका लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि, शुक्रबार राति ९ बजे उनलाई पक्राउ गरिएको थियो । अहिले उनलाई विमानमार्फत रुपन्देही पठाइने तयारी भइरहेको छ ।
