काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा ६४ आंगिक क्याम्पसहरू, ९६२ क्याम्पसमा कक्षा सञ्चालन हुँदैछ र १,०५३ क्याम्पसहरू सम्बन्धन प्राप्त छन् ।
स्ववियुको मुख्य उद्देश्य उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थिहरूको हक र हितको संरक्षण गर्दै अनुसन्धान, बौद्धिक, प्राज्ञिक, र चारित्रिक विकास गर्नु हो । यसका साथै, विद्यार्थीहरूमा शैक्षिक र सामाजिक मूल्यहरूको स्थापना गर्न र शिक्षक, कर्मचारी तथा विद्यार्थी बीच समन्वयको साथ अनुशासन कायम राख्न स्ववियुको महत्वपूर्ण भूमिका रहेको छ ।
पठनपाठनका लागि उपयुक्त वातावरण तयार गर्न र अतिरिक्त क्रियाकलाप तथा खेलकुदका माध्यमबाट विद्यार्थीको चौतर्फी विकासमा पनि स्ववियुको महत्वपूर्ण योगदान रहेको छ ।
निर्वाचन केन्द्रीय अनुगमन र समन्वय समिति सदस्य सचिव प्रा। पशुपति अधिकारीले विश्वविद्यालयका दुई आंगिक क्याम्पस र ८५ भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसहरूमा निर्विरोध निर्वाचन सम्पन्न भइसकेको जानकारी दिएका छन् । उनले १३ आंगिक क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढाउन समझदारीको प्रयास भइरहेको पनि बताएका छन् ।
स्ववियु निर्वाचनको तयारीका बीच सोमबार मध्यराति रत्नराज्यलक्ष्मी ९आरआर० क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो र यसको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ । निमित्त क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना टाँस गरेर निर्वाचन स्थगित गरिएको जानकारी दिएका छन् । सोमबार आह्वान गरिएको बैठकमा केही विद्यार्थी संगठन अनुपस्थित भएका कारण निर्वाचन स्थगित भएको उल्लेख गरिएको छ ।
