बारा । बारा जिल्लाको आदर्शकोतवाल गाउँपालिका–५, टेडाकट्टीस्थित खेतबारीमा लुकाइछिपाई लगाइएको अवैध अफिम खेती प्रहरीले नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय बारागढी र इलाका प्रहरी कार्यालय महेन्द्र आदर्श जयनगरको संयुक्त टोलीले बिभिन्न आठ स्थानमा फैलिएको करिब तीन कट्ठा क्षेत्रफलमा रहेको ३० हजार अफिमका बोट फडानी गरेको हो ।
प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठ र प्रहरी नायब निरीक्षक तुलसीराज पोखरेलको कमान्डमा खटिएको टोलीले उक्त अवैध खेती नष्ट गरेको जनाएको छ । प्रहरीले जिल्लाका अन्य भागहरूमा पनि अवैध लागुऔषध खेतीको अनुगमनलाई कडाइ गर्दै जाने बताएको छ ।
अवैध लागुऔषध खेती नियन्त्रण अभियानअन्तर्गत प्रहरीले यसअघि पनि विभिन्न स्थानमा अफिम खेती नष्ट गर्दै आएको छ । अवैध खेतीमा संलग्नहरूलाई कडा कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ ।
