वीरगञ्ज । वीरगञ्ज कारागारमा रहेका मुस्लिम कैदीबन्दीलाई रमजानमा साँझको इफ्तारी गर्न वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले खाद्य सामग्री उपलब्ध गराउनुभएको छ ।
कारागारमा रहेका करिब २ सय मुस्लिम कैदीबन्दीलाई पुग्ने सामग्री उहाँले व्यक्तिगत रूपमा उपलब्ध गराउनुभएको हो । महा नगरप्रमुख सिंहले पठाउनु भएको सामग्री कारागारका निमित्त प्रमुख रुपक मण्डललाई हस्तान्तरण गरिएको प्रमुख सिंहका स्वकीय सचिव अफरोज आलमले जानकारी दिनुभयो ।
इफ्तारीका लागि आवश्यक पर्ने चिउरा, भुजा, मिठा, तेल, चना, रुवाब्जा तथा अन्य खाद्य सामग्री उपलब्ध गराइएको आलमले जानकारी दिनुभयो । मुस्लिम समुदायको महत्वपूर्ण चाड रमजान अहिले चलिरहेको छ । एक महिनासम्म चल्ने रमजानका बेला मुस्लिम समुदाय दिनभर पानी समेत नखाई निराहार बस्ने परम्परा छ ।
साँझ भने इफ्तारी गर्ने गर्छन् । कारागारमा कैदी जीवन बिताइरहेकाहरूलाई इफ्तारी गर्न खाद्य सामग्रीको अभाव नहोस् भनेर महानगर प्रमुख सिंहले व्यक्तिगत रूपमा सहयोग उपलब्ध गराउनुभएको हो । खाद्य सामग्री हस्तान्तरण गर्न खैरुद्धिन हवारी, भुषाल चौरसिया, हफिज मियाँ, सर्फुद्दिन मियाँ, सलाउद्दिन मियाँलगायतको टोली कारागार पुगेको थियो ।
