कञ्चनपुर । भारतको उत्तर प्रदेशस्थित प्रयागराज (कुम्भ) स्नान गरेर फर्किने क्रममा स्कार्पियो गाडी दुर्घटना हुँदा सप्तरीको कञ्चनरुप नगरपालिका–३ का चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना गम्भीर घाइते भएका छन् ।
शुक्रवार उत्तर प्रदेशको गोरखपुरमा विपरीत दिशाबाट आइरहेको ट्र्याक्टर र कञ्चनरुपका भक्तजन सवार स्कार्पियो आपसमा ठोक्किँदा चार जनाको घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–७ का शिक्षक उपेन्द्र नारायण चौधरी र उनकी श्रीमती लिलादेवी चौधरी, कञ्चनरुप–७ का पर्शुराम चौधरी, कञ्चनरुप–५, पिपरा पूर्वका जितु यादवकी श्रीमती हरिहरदेवी यादव तथा सुनसरीको कुशाहा गाउँपालिका–१ की समतोलिया देवी यादव रहेका छन् ।
घटनामा शिक्षक उपेन्द्र चौधरी, जितु यादव लगायत छ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई गोरखपुरको स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी महेन्द्र नेपालले घटनाबारे औपचारिक जानकारी आउन बाँकी रहेको र थप विवरण संकलन भइरहेको बताएका छन् ।
