वीरगञ्ज । भारतको ओडिशा राज्यस्थित किट विश्वविद्यालयमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालका लागि न्याय माग्दै विद्यार्थीहरुले वीरगञ्जमा मौन जुलुश प्रदर्शन गरेका छन् ।
केआइआइटी विश्वविद्यालयमा अध्ययनरत भैरहवाकी विधार्थी प्रकृति लम्साल गत फागुन ४ गते कलेजकै होस्टलमा मृत भेटिए की थिइन् । त्यसपछि प्रकृतिको न्यायका लागि माग राखेर आन्दोलनमा उत्रिएका त्यहि कलेजका नेपाली विद्यार्थीहरुलाई कलेज प्रशासनले गुण्डा र सुरक्षागार्ड लगाएर कुटपिट गर्दै कलेजबाट लखेटिएको थियो ।
शुक्रबार वीरगञ्जका विभिन्न क्याम्पसका विद्याथर्थीहरुले मौन जुलुश प्रदर्शन गरेका हुन् । शुक्रबार बिहान वीरगञ्जको घण्टाघर चोकमा भेला भएका ग्लोबल बिजनेश कलेज र ओम इन्टरनेशनल कलेजका छात्रछात्राहरुले मौन जुलुश निकालेका हुन् । घण्टाघर चोकबाट सुरु भएको मौन जुलुश माईस्थान, आदर्शनगर, नगरपालिका चोक,घडिअर्वा हुदैं पुन घण्टाघर चोकमा पुगेर समापन भएको थियो ।
बिहिबार पनि वीरगञ्जमा अखिल नेपाल क्रान्तिकारी विदार्थीहरुले लम्सालको न्यायको माग गर्दै वीरगञ्जस्थित भारतीय महावाणिज्य दुताबासअगाडी प्रदर्शन गरेका थिए ।
