काठमाडौं । अवैध विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अमेरिकी नागरिक ४६ वर्षीया नि यान रहेका छन् । उनलाई शनिबार दिउँसो विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बाटिक एयरको उडानद्वारा काठमाडौंबाट मलेसिया जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा उनको अवैध मुद्रा भेटिएपछि पक्राउ गरिएको हो ।
उनको झोलाबाट १२ हजार ७ सय ४८ अमेरिकी डलर, २ सय ४९ सिंगापुर डलर, १२ हजार इन्डोनेसियन रूपियाँ, १ सय मलेसियन रिङ्गिट, विभिन्न कम्पनीका मोबाइल १९ थान, सिम कार्ड २८ थान र मेमोरी कार्ड १ सय २२ थान बरामद भएको प्रहरी ले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
