वीरगञ्ज । झण्डै एक शताब्दी पूरानो वीरगञ्जको नारायणी अस्पतालको भवन निर्माणमा सरकारी वेवास्ताले गर्दा चिकित्सकहरु उपचार नै छोडेर भवन निर्माणका लागि दबाव दिन सडकमा धर्ना बसेका छन् । अस्पतालको भवन निर्माणका लागि दबाव दिन शुक्रबार नारायणी अस्पताल अगाडि चिकित्सकहरु धर्ना बसेका हुन् ।
नारायणी अस्पताललाई ५०० शैयाको भवन निर्माणको लागि टेण्डर आह्वान भएपनि अहिले उक्त टेण्डरको विरुद्धमा अदालतमा मुद्दा परेपछि रोकिएको छ । नारायणी अस्पताललाई पाँचसय शैय्याको बनाउने यसअघि सरकारले निर्णय गरेपनि भवन निर्माण मा भने कुनै चासो छैन ।
त्यसैले नारायणी अस्पतालका चिकित्सकहरु भवन निर्माणको दबाव दिन संघर्ष समिति नै बनाएर धर्नामा बसेका हुन् । संघर्ष समितिले शुक्रबार विहान ११ बजेदेखि अस्पताल अगाडि सडकमै धर्नामा बसेका छन् ।
अस्पतालको भवन निर्माणको लागि टेण्डर भएपनि अहिले उक्त टेण्डरमा कानूनी उल्झन आएको र निर्माणमा ढिलाई भएकोले चिकित्कस, स्वास्थ्यकर्मी, नागरिक समाज लगायत स्थानीयहरु सहित सडकमा ओलिएको संघर्ष समितिका संयोजक डा. निरज कुमार सिंहले जानकारी दिए ।
अस्पतालको भवन निर्माणको लागि पटक पटक आग्रह गर्दापनि निर्माण हुन नसकेपछि बाध्य भएर अस्पताल भवन निर्माणका लागि सडक नै अवरुद्ध पारेर धर्नामा बस्न बाध्य भएको संघर्ष समितिका संयोजक डा. सिंहको भनाई छ । स्वास्थ्य पूर्वाधार निर्माणका लागि पहिलो पटिक चिकित्सक र स्वास्थ्यकर्मीहरु एप्रोन नै लगाएर सडक जाम गर्न बाध्य भएको संयोजक डा. सिंहले बताउनुभयो ।
नारायणी अस्पतालमा अहिलेसम्म दाताहरुको सहयोगमा बाहेक कुनैपनि सरकारले अस्पताल निर्माण गरेको छैन । १०० वर्ष भन्दा लामो इतिहास बोकेको अस्पतालमा बीरगञ्जका धेरैजसो व्यापारीहरू तथा उद्योगवाणिज्य सङ्घले समय र आवश्यकता अनुसार भौतिक संरचनाहरू निर्माण गरिदिएर यो अस्पतालले यस क्षेत्रको जनतालाई आफ्नो सेवा प्रदान गर्दै आएको गौरवशाली इतिहास छ । सरकारी र विकास समिति तर्फबाट ३०० शैय्यामा सञ्चालन भईरहेको छ । अहिलेसम्म नेपालको कुनै पनि सरकार परिवर्तन भएपनि अस्पताल निर्माण गर्न सकेको छैन ।
पञ्चायती व्यवस्था, प्रजातान्त्रिक, लोकतान्त्रिक र संघीय गणतान्त्रिक सरकारले एउटा पनि भौतिक संरचना अहिलेसम्म नबनाए को र वीरगञ्ज सहरका महान दाताहरूले बनाइदिएको पूरानो भौतिक संरचनाको भरमा अस्पतालले सेवा दिँदै आएको तितो यथार्थ रहेको संघर्ष समितिका संयोजक डा.सिंह बताउछन् ।



