रौतहट । राष्ट्रिय खोप कार्यक्रम अभियान अन्तर्गत रौतहट जिल्लामा झन्डै ५० हजार बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका ४९,२६९ जना बालिकालाई खोप दिइनेछ। कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ ।
पहिलो चरणमा माघ २३ गतेदेखि फतुवा विजयपुर, मौलापुर, बौधीमाई, गढीमाई, कटहरिया, देवाही गोनाही, राजपुर, परोहा र इशनाथ नगरपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।
दोस्रो चरणमा माघ ३० गतेदेखि गौर, राजदेवी, दुर्गा भगवती, यमुनामाई, माधवनारायण, गरुडा, वृन्दावन, गुजरा र चन्द्रपुर नगरपालिकामा खोप कार्यक्रम सञ्चालन गरिनेछ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख राजेश सिंहले सामुदायिक र संस्थागत विद्यालयमा ३९ हजार तथा विद्यालय बाहिर १० हजारभन्दा बढी बालिकालाई खोप लगाइने जानकारी दिए ।
सरकारले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा प्रमाणित एचपीभी खोप १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशव्यापी अभियान सञ्चालन गरिरहेको छ । नेपालमा हरेक वर्ष लगभग २,२०० महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र तीमध्ये १,३०० को मृत्यु हुने तथ्याङ्क स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ ।
