काठमाडौं । प्यालेस्टिनी सशस्त्र समूह हमासले उत्तरी गाजाका मानिसहरूलाई फर्कन अनुमति दिने सर्तमा थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार घोषणा गर्दै हमासले आगामी दिनमा ६ जना इजरायली बन्धकलाई रिहा गर्ने र त्यसपछि उत्तरी गाजाका बासिन्दालाई आफ्नो घर फर्कन दिने बताउनुभएको छ ।
रिहा गरिने बन्धकमध्ये एकजना अर्बेल येहुद रहेका छन् भन्ने बीबीसीले जनाएको छ । गाजा युद्धविराम सम्झौताको क्रममा हाल सम्म हमासले सात इजरायली बन्धकलाई रिहा गरेको छ । बन्धक साटासाटअन्तर्गत इजरायलले २०० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ ।
तर, इजरायली नागरिक अर्बेल येहुदलाई शनिबार रिहा नगरिएपछि इजरायलले हमासमाथि सम्झौता उल्लङ्घन गरेको आरोप लगाएको थियो । सम्झौताअनुसार पहिले इजरायली नागरिकको रिहाइ गरिनुपर्नेमा यो शर्त पूरा नभएको इजरायली अधिकारी हरूले दाबी गरेका छन् । हमासद्वारा शनिबार चार जना बन्धक रिहा गरिए पनि थप बन्धकको रिहाइ प्रक्रियाले इजरायल र हमासबीचको तनाव कायमै राखेको छ ।
