वीरगञ्ज । वैदिक सनातन हिन्दू परम्परा अनुसार तराई-मधेशका मधेशी तथा थारु महिलाहरूले आफ्नो सन्तानको सुख, समृद्धि, आनन्द र दीर्घायुका लागि मनाउने महान् लोकपर्व ‘जितिया’ (जीवित पुत्रिका) देशभर उत्साहका साथ मनाइँदै छ ।
आश्विन कृष्ण पक्षको सप्तमीदेखि नवमी तिथिसम्म तीन दिनसम्म धार्मिक विधिपूर्वक मनाइने यो पर्व नितान्त मातृस्नेह, आमाको त्याग र वात्सल्यको अद्भूत उदाहरणका रूपमा रहेको छ ।
आमाहरूले आफ्ना जीवित सन्तानको रक्षाका लागि जल र अन्नसमेत ग्रहण नगरी २४ घण्टाभन्दा बढी समयसम्म ‘जीतमहान गोँसाई’ (जिमुतवाहन) को कठोर ‘निर्जला’ व्रत बस्ने परम्परा छ । आज दोश्रो दिनको विधि गरिदैछ । हिजो नाहायखाय विधि सम्पन्न भएको छ ।
भोली पारनः अष्टमी तिथि समाप्त भएपछि नवमीका दिन पवित्र नदी वा पोखरीमा स्नान गरी पूजापाठ गरेर मात्र व्रत समापन (पारन) गरिन्छ।
यो पर्वले आमा र सन्तानबीचको प्रगाढ सम्बन्ध, त्याग र मातृशक्तिको महत्वलाई दर्शाउँछ। आज जितिया पर्व मनाउनुहुने सम्पूर्ण आमाहरूमा हार्दिक (शुभकामना) सन्तानको दीर्घायु र प्रगतिको कामना पूरा होस्।
