जनकपुर । केही दिनदेखि बढेको चिसो, बाक्लो हुस्सु, चिसो हावा, र पानीको झरीका कारण मधेश प्रदेशको जनजीवन प्रभावित भएको छ । शीतलहरले प्रदेशका बासिन्दाको दैनिक गतिविधि ठप्प बनाएको छ भने व्यापार व्यवसायसमेत प्रभावित भएको छ ।
मधेश प्रदेशका सर्लाही, महोत्तरी, धनुषा, बारा, पर्सा, सिराहा, सप्तरी जिल्लाहरू चिसोको चपेटामा परेका छन् । घाम नलाग्ने र शीतलहरका कारण मानिसहरू घरमै बस्न बाध्य भएका छन् । मजदुरी गरेर जीविकोपार्जन गर्नेहरूका लागि चिसोले काम गर्न कठिन बनाएको छ ।
चिसोबाट जोगिन केही ठाउँमा नगरपालिका, गाउँपालिका, सशस्त्र प्रहरी, र जनपद प्रहरीले दाउरा बालेर आगो ताप्ने व्यवस्था गरेका छन् । चिसोका कारण केही विद्यालयले बिहीबारदेखि आइतबारसम्म बिदा दिएका छन् ।
जल तथा मौसम विज्ञान विभागले तराई मधेशका जिल्लामा शीतलहर चलेको घोषणा पनि गरेको छ । मधेश प्रदेशको पश्चिमी भूभाग तथा बाँकी प्रदेशको तराई भूभागमा भने बिहान हुस्सु कुहिरो लागे पनि दिउँसोपछि खुल्दै जाने महाशाखाले जनाएको छ ।
