एजेन्सी । टर्कीएको एउटा स्की होटलमा आगलागी हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । आगलागीमा अरु ५१ जना घाइते भएका छन् । बाँकी १७ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ
स्थानीय समयअनुसार बिहान साढे तीन बजे राजधानी अङ्काराबाट १७० किलोमिटर उत्तरपश्चिममा रहेको बोलु शहरमा १२ तले ग्राण्ड कार्टेल नामको होटलमा आगलागी भएको बीबीसीले जनाएको छ । आगलागीको समयमा २ सय ३४ जना होटलमा रहेका खबरमा उल्लेख छ ।
टर्कीएका स्थानीय सञ्चारमाध्यमअनुसार दुई जनाको झ्यालबाट हाम फालेर मृत्यु भएको छ । बोलुको पहाडी भूभाग स्कीइङका लागि लोकप्रिय रहेकाले यो समयमा विद्यालय बिदा परेकाले इस्तानबुल र अङ्काराबाट धेरै मानिसहरू बिदा मनाउन त्यहाँ गएका थिए । आगलागीको घटनाबारे अनुसन्धानका लागि भन्दै होटल मालिकसहित नौ जनालाई पक्राउ गरिएको त्यहाँका प्रहरी अधिकारीले बताएका छन् ।
