वीरगञ्ज । सशस्त्र प्रहरी बलले सीमा सुरक्षामा सक्रियता बढाएसँगै पर्सामा भन्सार छलीका सामान बरामद गर्ने क्रम तीव्र बनेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो छ महिनामा मात्रै सशस्त्र प्रहरीले २१ करोड २८ लाख २६ हजार रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गणका प्रमुख गणपति राधेश्याम धिमालका अनुसार भन्सार छली गरेर भित्र्याइएका लत्ता कपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्ट्स, खाद्य सामग्री, र किराना सामान सबैभन्दा धेरै बरामद भएका छन् । वीरगञ्ज भन्सार नाकामा दुई तालिमप्राप्त कुकुरको सहयोगमा समेत सुरक्षा जाँच गरिएको उनले जानकारी दिए ।
चालु आवको पहिलो छ महिनामा १६ करोड ४७ लाख ४१ हजार रुपैयाँ बराबरको भन्सार छली सामान वीरगञ्ज भन्सार कार्यालय मा बुझाइएको छ । त्यस्तै, ४ करोड ६० लाख ८५ हजार मूल्यका बिलबिजक नभएका सामान पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा हस्तान्तरण गरिएको छ ।
गत आव २०८०/८१ को सोही अवधिमा ४ करोड ७७ लाख मूल्यका भन्सार छली सामान र ९ करोड ८२ लाख ६९ हजार मूल्यका बिलबिजक नभएका सामान बरामद भएको थियो । चालु वर्षको तुलनामा यो परिमाणमा उल्लेखनीय वृद्धि भएको छ ।
भारतसँग खुला रूपमा जोडिएको १०७ किलोमिटर लामो सीमा क्षेत्र पर्सा जिल्लामा रहेका कारण चोरी पैठारी र भन्सार छली नियन्त्रण सशस्त्र प्रहरीको प्रमुख चुनौती रहँदै आएको छ ।
