वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सिरिसिया, तिलावे, र सिंगहा नदी किनार अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन १५ दिनको समय सीमा तोकेको छ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले शुक्रबार जारी गरेको सूचनामा नदी किनार अतिक्रमणले वर्षायाममा डुबानको समस्या निम्त्याउने हुँदा यस्ता संरचनाहरू तत्काल हटाउन आग्रह गरिएको छ । साथै, नदीको केन्द्र भागबाट ३० मिटर दायाँ–बायाँ कुनै पनि नयाँ संरचना निर्माण नगर्न चेतावनीसमेत दिइएको छ ।
महानगरपालिकाले २०७५ को बस्ती विकास शहरी योजना तथा भवन निर्माण मापदण्डको दोस्रो संशोधन २०७८ अनुसार मात्र संरचना निर्माण गर्न अनुरोध गरेको छ । ‘नदी किनारमा रहेका संरचना हटाउने र भविष्यमा ३० मिटरको क्षेत्रभित्र निर्माण कार्य नगर्नुहोला,’ सूचनामा भनिएको छ ।
महानगरले अतिक्रमणका कारण नदीको बहाव अवरुद्ध हुने र डुबानको समस्या सिर्जना हुने भन्दै आधार क्षेत्रलाई खुला राख्न विशेष जोड दिएको छ । सिरिसिया, तिलावे, र सिंगहा नदीका किनार खाली नगरे कानूनी कारबाहीको सामना गर्नुपर्ने चेतावनी पनि सूचनामा उल्लेख गरिएको छ ।
