काठमाडौं । नेपालमा मङ्कीपक्स (एमपक्स) संक्रमणका थप एक नयाँ केस पुष्टि भएको छ । साउदी अरेबियाबाट फर्किएका ४४ वर्षीय पुरुषमा यो संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
“थप एक व्यक्तिमा मङ्कीपक्स पुष्टि भएको छ । परीक्षणको क्रममा संक्रमण देखिएको हो । संक्रमणको पृष्ठभूमिबारे विस्तृत विवरण चाँडै सार्वजनिक गर्नेछौँ,” डा. बुढाथोकीले भने ।
यसअघि पुस ५ गते तनहुँका ३६ वर्षीय एक पुरुषमा मङ्कीपक्स पुष्टि भएको थियो । उनी पनि साउदी अरेबियाबाट फर्किएका थिए । नेपालमा पहिलो पटक २०८० असार १ गते एक विदेशी नागरिकमा मङ्कीपक्स संक्रमण देखिएको थियो ।
मङ्कीपक्स बिफर रोग प्रजातिको भाइरसबाट हुने संक्रमण हो । यो संक्रमित व्यक्ति वा जनावरसँग प्रत्यक्ष सम्पर्क, संक्रमित व्यक्तिको शरीरबाट निस्कने तरल पदार्थ, घाउ खटिरा, तथा दूषित सामग्रीजस्तै ओछ्यान र लुगाबाट सजिलै सर्ने गर्छ ।
श्वासप्रणाली, आँखा, नाक, मुख, तथा फुटेको छाला जस्ता संवेदनशील भागबाट भाइरस शरीरमा प्रवेश गर्न सक्छ । बाँदर, मुसा, लोखर्केलजस्ता जनावरहरूसँगको सम्पर्कले पनि संक्रमण फैलिन सक्छ । स्वास्थ्य मन्त्रालयले मङ्कीपक्स संक्रमण रोकथामका लागि सावधानी अपनाउन र संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्क नगर्न सबैलाई आग्रह गरेको छ ।



