वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले गाडिएको १२ वर्षीय एक बालकको शव निकालेको छ । प्रहरीले वीरगन्जको सिर्सिया नदि छेउको समसानघाटमा गाडिएको बालकको शव निकालेको जनाएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका शम्भु महतो धानुकका छोरा १२ बर्षिय दीलिप मण्डल धानुकको गाडिएको शव निकालेको हो ।
शव गाडिएको सूचना आएपछि पर्सा प्रहरीको टोलीले शंकास्पद लागेर शव निकालेको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाए । उनका अनुसार प्रहरीलाइ आएको सूचना अनुसार पच्छयाँउदै जाँदा शव निकालिएको हो । खाल्डोबाट निकालिएको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको पर्साका प्रहरी प्रवक्ता जानकारी दिए । मृत्युबारे अभिभावकले कसैलाई जानकारी नगराई एकाएक समसानघाटमा लगेर दिलिपको शव गाडेको खबर प्रहरीलाई आएको थियो ।
यही जानकारीबमोजिम पर्सा प्रहरीको टोली र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले बालकको शव अन्दाजी दुई फिट गहिरो खाल्डोबाट गाडिएको अवस्थामा निकालेको हो । प्रहरी प्रारम्भिक अनुसन्धानमा बालकको शरीरमा कुनै किसिमको चोटपटक नदेखिएको पाइएको प्रहरी बताउँछ । शंकास्पद ढंगले छोराको शव गाडन लागेपछि अनुसन्धानका लागि प्रहरीले उनका बुवा र आमालाई नियन्त्रणमा लिएको जनाएको छ । पर्सा प्रहरीले दीलिपका बुवा शम्भु र आमा सबिता देबीलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिएको छ । अहिलेसम्म मृत्युको कारण यथेष्ट प्रमाण फेला नपरेको पर्सा प्रहरीले जनाएको छ ।



