काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण आरोपमा समातिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई अनुमति दिएको छ ।
यसअघि ४ दिन थपिएको म्याद सकिएसँगै प्रहरी लामिछानेलाई बिहीबार अथार्त (आज) अदालत पेश गरेको थियो । दुवै पक्षको बहस सुनेपछि न्यायाधीश चन्द्रकान्त पौडेलको एकल इजलासले लामिछानेलाई अझै ५ दिन हिरासतमै राख्न अनुमति दिएको हो ।
प्रहरीले अभियोगपत्र तयार गरिरहेको भन्दै लामिछानेलाई थप ९ दिन हिरासतमा राख्न अदालतसँग अनुमति मागेको थियो । गत २ कात्तिकमा लामिछाने काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए ।



