जनकपुर । विवाहपञ्चमी महोत्सवको अवसरमा जनकपुरस्थित जानकी मन्दिरमा ३४ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ । विश्व हिन्दु परिषद नेपालको आयोजनामा शनिबार राति मिथिला परम्परा अनुसार उनीहरुको विवाह भएको हो ।
परिषदका जनकपुर अध्यक्ष सन्तोष साहका अनुसार नागरिकता वा जन्मदर्तामा २० वर्ष उमेर पुगेका जोडीको विवाह गराइएको हो । एक जोडीको विहेको व्यवस्थापनमा ७०–८० हजार रुपैयाँ खर्च भएको उनले बताए । हिन्दु परिषदले नै आर्थिक सहयोग संकलन गरी विवाहको सम्पुर्ण खर्च जुटाएको उनले जानकारी दिए ।
प्रत्येक जोडीको दुलहीका लागि १६ सेट साडी, एक सेट लेहंगा, दुलहाका लागि एक सेट सर्ट-पाइन्ट र धोती कुर्ता, प्रत्यके जोडीलाई सुनको एउटा मंगलसुत्र, दुईवटा चाँदीको औंठी, भाँडाकुडा सहितको एकसेट भान्छा सेट, सुत्ने सेट, बेहुली पक्षबाट २५–२५ जनाको खाजाखाना समेत व्यवस्थापन गरिएको थियो ।
जनकपुरधाम उत्तम विवाह भूमी हो भन्ने संस्कृतिलाई प्रवर्द्धन गर्न परिषदले विगत ६ वर्षदेखि विवाहपञ्चमीको अवसरमा सामूहिक विवाह आयोजना गर्दै आएको छ । अगामी दिनमा जनकपुरलाई नेपाल-भारतसहित विभिन्न देशका हिन्दुहरुको विवाह हब बनाउने प्रयास भइरहेको साहको भनाइ छ ।
