काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार भएको खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स बिजयी भएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले चितवन राइनोज् र पोखराले लुम्विनी लायन्सलाई पराजित गरेको हो ।
शुक्रबार भएको पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै कर्णाली याक्सले पहिलो जित दर्ता गर्न सफल भयो । १ सय ३१ रनको लक्ष्य कर्णालीले १९ दशमल ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । कर्णालीका ओपनर शिखर धवनले सर्वाधिक ४६ रन जोडे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रनको सामान्य योगफल तयार गरेको थियो । लुम्बिनीका रवि बोपाराले सर्वाधिक ५९ रन जोडे ।
त्यस्तै दोस्रो खेलमा ओपनर आन्द्रेस गौसको कीर्तिमानी शतकको मद्दतमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै पोखरा एभेन्जर्सले पनि पहिलो जित दर्ता गर्यो । लुम्बिनीले दिएको १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पोखराले १६ दशमलव ५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
पोखराका लागि ओपनर आन्द्रेस गौसले नट आउट रहँदै सर्वाधिक १ सय ४ रन बनाए । त्यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७० रनको योगफल तयार गरेको थियो ।
लुम्बिनीका कप्तान रोहितले सर्वाधिक ९५ रन जोडे । एनपिएल अन्तर्गत शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा दोश्रो खेलमा कर्णाली याक्स र बिराटनगर किंग्सबीच प्रतिष्पर्धा हुने क्यानले जनाएको छ ।



