काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचनले आगामी आमनिर्वाचन एक्लै लड्ने आधार तयार भएको जनाएको छ । पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बिहीबार बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले एकतावद्ध भएर उपनिर्वाचनमा होमिएका कारण सकारात्मक र उत्साहजनक परिणाम आएको र आगामी निर्वाचन एक्लै लड्ने आधार तयार भएको निष्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
आगामी निर्वाचनमा पार्टीको आफ्नै एजेन्डा र पहिचानसहित एक्लै निर्वाचन लड्ने आधार तयार गरेको निष्कर्ष रहेको उहाले बताउनुभयो । उहाले बृहत बामपन्थी एकीकरणका लागि थप आधार समेत उपनिर्वाचनले दिएको बताउनुभयो । आगामी २७ गते स्थायी कमिटीको बैठक बस्ने र उपनिर्वाचनका बारेमा थप समिक्षा गर्ने उहाले जानकारी दिनुभयो ।
बैठकले पालिका सम्मेलन र पालिकास्तरका खबरदारी सभालाई प्रभावकारी बनाउने र केन्द्रीय नेताहरु सहभागी हुने निर्णय गरे को उहाले बताउनुभयो । त्यस्तै बैठकले सरकारको प्रभावकारिता शून्य अवस्थामा रहेको र सेवा प्रवाह र सुशासनको पक्षमा कमजोरी प्रस्तुति देखाएको निष्कर्ष पनि निकालेको छ ।
प्रवक्ता सापकोटाले विद्युत प्राधिकरणले गरिरहेको काममा समेत सरकारले हस्तक्षेप गर्न खोजेको र भ्रष्टाचारीका साथै बिचौलिया लाई जोगाउने प्रयास भएको उल्लेख गर्नुभयो । उहाले स्थायी समिति र केन्द्रीय समिति बैठकमा बिस्तृत रुपमा छलफल गरेर थप रणनीतिका साथ अघि बढ्ने उल्लेख गर्नुभयो ।
उहाले सरकार भत्काउने खेलमा माओवादी नलाग्ने स्पष्ट पार्नुभयो । माओवादी बैठकले मंसिर २३ गते हुने भनिएको अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन हालका लागि स्थगीत गर्ने निर्णय समेत गरेको छ ।
