चितवन । बर्खाका कारण चितवन राष्ट्रिय निकुञ्जभित्र बन्द भएको जंगल सफारी २३ असोज शुक्रबारदेखि खोल्ने तयारी गरिएको छ । गत १७ असारदेखि निकुञ्जले जिप सफारी बन्द गरेको थियो । वर्षाको समयमा आउने भलबाढीले बिगारेको बाटो मर्मत गर्ने, ढलेका रुखहरू पन्छाउने जस्ता कामहरू निकुञ्जले धमाधम गरिरहेको छ ।
असोजको दोस्रो साता आएको बाढीले जंगल सफारी गर्ने रुटहरू भत्काएका कारण जंगल सफारी खुला गर्न समय लागेको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।
‘असोजको दोस्रो साताबाट नै जिप सफारी सञ्चालन गर्ने भन्ने तयारी थियो, तर त्यहीँ समयमा ठूलो पानी परेका कारण निकुञ्ज भित्रका विभिन्न खोल्सा तथा खोलामा आएको बाढीले रुटहरू बिगारेको छ, त्यसलाई बनाउँदै छौं,’ सूचना अधिकारी थापामगरले भने, ‘अब असोज २३ गतेदेखि सञ्चालन गर्ने तयारीका साथ काम गरिरहेका छौं ।’
असोज दोस्रो साता रिउ खोलामा आएको बाढीले निकुञ्जको टाइगरटप्स क्षेत्रमा जाने रुट बढी बिगारेको छ । सो ठाँउमा ग्राभेल हालेर रुट तयार गर्ने काम भइरहेको सूचना अधिकारी थापामगरले जानकारी दिए ।
