काठमाडौं । सरकारी वकिल कार्यालय काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान जारी छ । कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन आरोपमा आइतबार बिहान साढे १० बजेदेखि उनको बयान सुरू भएको हो ।
उनको बयान आज सकाउने प्रहरी र सरकारी वकिलको तयारी छ । उनको बयान सकेसँगै जिल्ला प्रहरी कार्यालय कास्कीमै पठाउने प्रहरीको तयारी छ । यसअघि सरकारी वकिल कार्यालयमा शुक्रबार पनि लामिछानेको बयान भएको थियो । त्यसदिन चार घण्टा बयान भएको थियो ।
कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो । रास्वपा सभापति लामिछानेलाई सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा गत कात्तिक २ गते प्रहरीले पक्राउ गरेको थियो ।
यसअघि पूर्वडिआइजी छविलाल जोशी, कुमार रम्तेललाई काठमाडौं ल्याएर पोखरा फिर्ता गरिसकेको छ । उनलाई बयानका लागि चितवन पनि लगिनेछ । जिल्ला अदालत चितवनबाट पनि उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।
