वीरगञ्ज । पर्सा प्रहरीले ८५ केजी गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ बाइपास सडकखण्डबाट ना.४ ख ९२५८ नम्बरको मिनी कन्टेनरमा लुकाएर ल्याएको ८५ केजी गाँजा सहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपालचोक जिल्लाको बलेफी गाउँपालिका वडा नं. ६ का ३६ वर्षीय शान्त वहादुर तिमिल्सिना, मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ९ का ४८ बर्षीय प्रेम रुम्बा र मकवानपुरकै कैलाश गाँउपालिका वडा नं.–१ का ३८ बर्षीय सुर्य बहादुर मोक्तान रहेका छन् ।
मिनी ट्रकमा गाँजा लोड गरेर ल्याएको सूचनाको आधारमा रोकेर जाँच गर्दा मिनी कन्टेनर ट्रकभित्र ४ वटा सेतो प्लाष्टिकको बोरा मा रातो प्लाष्टिकले बेरी लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा ८५ के.जी. फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो ।
मिनी कन्टेनर ट्रकमा लोड रहेको गाँजा सहित पक्राउ परेका विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भैरहेको पर्सा प्रहरीले जनाएको छ ।
