काठमाडौं । रौतहटमा सशस्त्र प्रहरीको टोलीले पेस्तोल र गोलीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सोमबार बिहान २ बजे विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल बीओपी बेलाबिछवाका प्रमुख इन्स्पेक्टर चेतन कुमार खड्काको नेतृत्वमा गएको गस्ती टोलीले राजदेवी नगरपालिका-९, ब्रहमपुरी गाउँस्थित सञ्जीव सिंहले सञ्चालन गरेको पसलमा छापा हानेको थियो ।
सशस्त्र प्रहरीले पसलको शौचालयबाहिर अवैध हतियार भेटिएपछि ४२ वर्षीय भारतीय नागरिक राजेश सिंहलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंका अनुसार शौचालयको माथिल्लो भागमा लुकाइएको एकथान नलकटुवा पेस्तोल, ८ एमएमका तीनवटा गोली र एक थान खोका बरामद गरिएको छ । उक्त हतियारसहित आरोपीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको छ ।
