काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मौलिक भाषा, संस्कृतिमाथि सवैले गर्व गर्नसक्नुपर्ने बताउनुभएको छ । नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा नेपाल भाषा मंका खलः यलले शनिबार ललितपुर को पाटनमा आयोजना गरेको बिशेष समारोहलाई सम्बोधन गर्दै प्रधनमन्त्री ओलीले सवैको सांस्कृतिक पर्वलाई सम्मान गर्दै मौलिक भाषा, संस्कृतिमाथि सवैले गर्व गर्नसक्नुपर्ने बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले नेवारी संस्कृति र भाषा नेपालको एक समृद्धि संस्कृति र विशेष पहिचानको विषय बनेको जिकिर गर्नुभयो । नेपाल संवतलाई कामकाजका भाषाका रुपमा प्रभावकारी कार्यान्वयन, राष्ट्रिय विभूति शंखधर साख्वाका विषयमा अध्ययन अनु सन्धान गर्ने बिषय तथा ऐच्छिक विषयका रुपमा नेपाल भाषालाई पनि समावेश गर्ने जस्ता मागहरु सकारात्मक रहेको उहाले बताउनुभयो ।
विसं २०५६ मङ्सिर २ गते कृष्णप्रसाद भट्टराईको नेतृत्वको तत्कालीन सरकारले नेपाल संवतका प्रणेता शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूति मान्यता दिएको थियो । त्यस्तै, पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको तत्कालीन सरकारले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिँदै सरकारी कामकाजमा प्रयोगमा ल्याउने निर्णय गरी कार्यान्वयनमा ल्याएको हो ।
