काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता र कानुन विपरीतका क्रियाकलाप सफल हुन नदिने बताउनुभएको छ ।सशस्त्र प्रहरी बल, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई सफल हुन नदिने बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको सुरक्षालाई सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै सङ्गठनको क्षमता, उचाइ र कामलाई अझ माथि उठाउन शुभकामना दिनुभयो ।
देशको निर्माण र रक्षा सुविधाले मात्रै नभई आत्मबलले हुने उहाले बताउनु भयो । सशस्त्र प्रहरी बललाई प्रभावकारी बनाउन र सुविधा बढाउने विषयमा कानुनमा आवश्यक संशोधनको तयारी भएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले प्राकृतिक विपद्लगायत अन्य परिस्थितिलाई सामना गर्दै मुलुकको शान्ति स्थापना कार्यमा तैनाथ हुन लागेकामा सहभागी प्रहरी अधिकृतलाई शुभकामना समेत दिनुभयो ।
