काठमाडौं । हाल देशभरको तापक्रम क्रमशः घट्दै गएको छ । देशबाट मनसुन बाहिरिएसँगै काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको हो । काठमाडौं उपत्यकामा अहिलेको तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियसका बीच रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ ।
हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको विभागले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा आंशिकदेखि साधारण बदली रहेको र बाँकी भागमा मौसम सफा रहेको विभागले जनाएको छ ।
यता काठमाडौं उपत्यकामा तापक्रम घटेसँगै वायु प्रदूषण पनि बढेको छ । वायु प्रदुषण बढेसँगै काठमाडौंको वायुमण्डल धुम्मिएको छ । एअर क्वालिटी इन्डेक्स मापक अनुसार काठमाडौं उपत्यकाको वायुको गुणस्तर १५५ छ । यसको अर्थ काठमाडौंको वायु गुणस्तर अस्वस्थकर हो ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एक्यूआई १५० भन्दामा माथि पुग्दा वायुलाई अस्वस्थ मान्ने गरेको छ । उक्त अंक ३ सय भन्दा माथि पुगे त्यसलाई खतरनाक मानिने गरिएको छ ।



