काठमाडौं । गोरखादेखि काठमाडौंका लागि छुटेको तीन दिनदेखि सम्पर्कविहीन रहेको बस धादिङको झ्याप्ले खोला पहिरोमा भेटिएको छ । पहिरो पन्छाउने क्रममा आज बिहान भेटिएको बस गोरखादेखि हिँडेको रहेको पुष्टि भएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भएको बस नै झ्याप्ले खोलामा भेटिएको बस रहेको हो । उक्त बसको नम्बर ना ४ ख २२७० रहेको खुलेको छ ।
बसमा चार जनामात्रै यात्रु रहेको खुलेको छ । त्यसमा रहेका यात्रुहरूको पहिचान हुने क्रम जारी रहेको छ । उक्त बस शुक्रबार बिहान ९ बजे धार्चे गाउँपालिकाको लापुबेसीबाट काठमाडौं प्रस्थान गरेको थियो । बसका चालक र सहचालकसँग खानीखोलाबाट सम्पर्क टुटेको कम्पनीका अध्यक्ष नारायण खत्रीले जानकारी दिए ।
खत्रीले बसमा दुई तीन जना मात्रै यात्रु रहेको बुझिएको बताएका छन् । चालक र सहचालकसँगको कुराकानीमा अत्यधिक जाम रहेको भनेका उनले बताएका छन् । प्रहरीले पनि बसमा चार जना मात्रै रहेको बताएको छ । बसबाट सबैको शव निकालिसकिएको छ ।
त्यस्तै अर्को हायस गाडी चितवनबाट आएको यसअघि नै खुलेको थियो । उक्त गाडीमा १७ जना सवार रहेको प्रहरीले जनाएको छ । झ्याप्ले खोलाबाट शनिबार बिहान मात्रै २१ जनाको शव निकालिएको छ ।



