काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संविधान संशोधनका बिषयमा दलहरुबीचको असमझदारी उचित नहुने बताउनुभएको छ ।
संविधान दिवसको अवसरमा संविधानसभा सदस्य परिषद् नेपालले आइतबार सिंहदरबारमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संविधान कार्यान्वयनको ९ बर्ष पुरा भएको अवस्थामा यसलाई थप स्थायीत्व दिन संशोधन जरुरी रहेको भन्दै यस बिषयमा दलहरुबीचको असमझदारी उचित नहुने बताउनुभएको हो ।
उहाले सवैको सहमति र सहकार्यका साथै समझदारीका साथ संविधान संशोधनको निकास निकाल्नुपर्ने धारणा राख्नुभयो । संविधान संशोधनको बिषय सरकारको नभई संसदले प्रक्रिया मिलाएर टुङ्गो लगाउने बिषय भएको उहाको भनाइ छ । उहाले संविधान संशोधनको पक्ष–बिपक्षमा नारावाजी हुनु दुखद कुरा भएको उल्लेख गर्नुभयो ।
सभामुख घिमिरेले संविधान कार्यान्वयनका क्रममा जनताले भोगेका अनुभवलाई लिएर संशोधन गर्नुपर्ने भन्दै यसलाई हार वा जितको बिषय बनाउन नहुने बताउनुभयो । उहाले संविधान कार्यन्वयनका क्रममा प्रयाप्त ध्यान दिन नसकेको र प्रयाप्त ऐन बनाउन नसकिएको जिकिर गर्नुभयो । जसका कारण संघीयता कार्यान्वयनमा समस्या देखिएको उहाको भनाइ छ ।
