काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीभित्रको अराजक गतिविधिलाई छुट दिन नसक्ने स्पष्ट पार्नुभएको छ ।
पार्टीको बागमती प्रदेश कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको दशौ राष्ट्रिय महाधिवेशनको सन्देशसभा बिषयक कार्यक्रममा अध्यक्ष नेपालले पार्टीकै नेता तथा कार्यकर्ताबाट नै पार्टीप्रति निराशा पैदा गर्ने काम भएको भन्दै पार्टीभित्रको अराजक गतिविधिलाई छुट नदिने स्पष्ट पार्नुभएको हो ।
महाधिवेशनमा पराजय भएका कारण पार्टीका केही नेताहरूको गम्भीर अभिव्यक्ति बाहिर आएको र त्यसले तरंग नै पैदा गरेको उहाले बताउनुभयो ।
उहाले एमालेमा विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि हुदै गएको जिकिर गर्नुभयो । अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनका लागि पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले एमालेमा भद्दा हुदै गएको कार्यशैली नेकपा एकीकृत समाजवादीमा स्वीकार्य नहुने बताउनुभयो ।
देशको हितमा आट र हिम्मतका साथ आफ्नो कुरा विश्वमाझ राख्न सक्ने कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता रहेको उहाले बताउनुभयो । त्यस्तै खनालले पश्चगामी ढंगले संशोधन गर्ने प्रयास गरिने स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।



