काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभा अध्यक्षको बिषयलाई लिएर गठबन्धनमा कुनै असर नपर्ने बताउनुभएको छ । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै शर्माले गठबन्धनभित्र रहेका दलको निर्णय र नेताहरुको अभिव्यक्तिले गठबन्धनमा कुनै असर नपर्ने बताउनुभएको हो । उहाले माओवादीभित्र राष्ट्रियसभा अध्यक्ष माओवादीले पाउनुपर्ने गरि कुरा राख्ने समझदारी बनेको र यस बिषयपनि गठबन्धनभित्रै छलफल हुने जिकिर गर्नुभयो ।
राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिने सहमति नभइ समझदारी बनेपनि अहिले परिस्थीति फरक रहेको उहाको भनाइ छ । शर्माले माओवादीको मागलाई गठबन्धन दलले सहयोग गर्नुपर्ने बताउनुभयो । त्यस्तै उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्काले राष्ट्रियसभा अध्यक्ष चयनको बिषयमा गठबन्धनले नै टुङ्गो लगाउने र सर्वसम्मत उम्मेदवार दिने बताउनुभयो । निर्वाचनका बेला जनताको विश्वास लिएर गठबन्धन बनाएको भन्दै पाँचै बर्ष गठबन्धन चल्ने उहाले बताउनुभयो । राष्ट्रियसभा अध्यक्षको दावीले गठबन्धनमा कुनै समस्या नभएको उहाको भनाइ छ । उहाले गठबन्धनभित्र केहि समस्या भए छलफलबाटै निष्कर्षमा पुगिने जिकिर गर्नुभयो ।
