काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० सिरिजमा नेपालले नामिबियालाई पराजित गरेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको हो । जितका लागि एक सय ८१ रनको चुनौती पछ्याएको नामिबिया निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७७ रनमा समेटियो । नामिबियाका लागि कप्तान जेजे स्मिथले ५० रन जोडे । जान फ्रिलिङ्कले ३७ रन जोडे भने जेपी कोट्जेले २५ र माइकल भान लिङ्गेनले १० रन बनाए । रुबेन ट्रम्पलम्यानले १४ रन र जेन ग्रिनले अविजित २३ रन बनाए । बलिङतर्फ नेपालका करण केसी, सोमपाल कामी र कप्तान रोहित कुमार पौडेलले समान दुई÷दुई विकेट लिए भने अभिनाश बोहोराले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८० रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल मल्लले ५५ रनको योगदान दिए । आरिफ शेखले ३१ रन जोडे । त्यस्तै गुलशन झाले २६ रन बनाए भने अनिल शाहले २३ रन जोडे । बलिङतर्फ नामिबियाका बेन शिकाङ्गोलले तीन विकेट लिए भने ज्याक ब्रेसलले दुई विकेट झारे । अब नेपालले शनिबार नेदरल्यान्डसँग खल्नेछ ।
