काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एकछिनको लाभको लागि उत्तेजनताको राजनीति नगर्न प्रचण्डलाई सुझाव दिनुभएको छ । बिहीबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै थापाले नेपाल पनि बंगलादेश र श्रीलंकाजस्तै हुनसक्ने प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउदै एकछिनको लाभको लागि उत्तेजनताको राजनीति नगर्न सुझाव दिनुभएको हो ।
उहाले एकछिनको लाभको उत्तेजनाले आफैलाई जलाउन सक्ने उल्लेख गर्नुभयो । प्रतिपक्षी दल समग्र प्रणालीको नभई सरकारको मात्रै प्रतिपक्षी भएको भन्दै थापाले प्रतिपक्षी दलले आफ्नो क्रियाकलापप्रति गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै महामन्त्री थापाल सहकारी ठगी प्रकरणमा आफुहरुकै कारण छानविन समिति गठन भएको र प्रमाण पनि दिएको बताउनुभयो । जसका कारण ९ मिनेटमा स्पष्ट पार्ने दावी गरेका रवि लामिछानले छानविन समितिमा ९ घण्टासम्म बयान दिनुपरेको उहाले टिप्पणी गर्नुभयो ।
छानविन समितिप्रति आफुहरुको पूर्ण विश्वास रहेको भन्दै थापाले तथ्य र प्रमाणको आधारमा फैसला आउने दिन कुरेर बसेको जिकिर गर्नुभयो । त्यस्तै थापाले नीतिगत निर्णयका आधारमा भ्रष्टाचारीलाई जोगाउने काम कुनैै हालतमा स्वीकार्य नहुने बताउनुभयो ।



