काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर भएको आरोप लगाउनुभएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले सरकार अहंकारपूर्ण गलत बाटोतिर अग्रसर भएको समेत बताउनुभयो ।
अब पनि रचनात्मक खबरदारी नगरे धेरै ढिलो हुने र धेरै क्षति हुने उल्लेख गर्दै उहाँले जनताले संसदमाथि गरिरहेको विश्वास कमजोर हुन नदिन आफूले रोस्टममा उभिने निर्णय गरेको बताउनुभयो । प्रचण्डले सत्ताको कुनै पनि अनैतिकता, बेथिति र बेइमानीको निरीह साक्षी आफुहरु नहुने जिकिर गर्नुभयो ।
वर्तमान सरकार राजनीतिक बलमिच्याइ र संविधानको अवहेलनाबाट बनेको असंवैधानिक सरकार भएको समेत उहाले बताउनु भयो । उहाले सरकारका एकएक अपराधलाई यही संसदमा नंग्याउने, खबरदारी र प्रतिरोध गर्ने चेतावनी दिनुभयो । सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने र अरु अपराधीलाई पनि बचाउने खतरनाक खेलमा लागेको उहाले बताउनुभयो ।
उहाले विभिन्न काण्डमा एकअर्कालाई जोगाउन र उन्मुक्ति दिन मिल्ने सामान्य अपराध नभएको धारणा राख्नुभयो । लोडसेडिङ को बेलाको डेडिकेटेड र ट्रंकलाइनको बिलको विवादमा प्रधानमन्त्री रोष्टममा उभिएर दिएको अभिव्यक्तिले सिङ्गो देश स्तब्ध भएको उहाले तर्क गर्नुभयो ।
प्रचण्डले वर्तमान सरकार सुशासनसँग तर्सिएर, सुशासनको वेगलाई रोक्न, आफूहरु र आफ्नाहरु जोगाउन र जोगिन बनेको उल्लेख गर्नुभयो । विभिन्न काण्डमा परेकालाई उन्मुक्ति दिन मिल्ने सामान्य अपराध नभएको उल्लेख गर्दै उहाँले अन्तराष्ट्रिय जगतमै नेपालको कानुनी, नैतिक, राजनीतिक र सामाजिक प्रतिष्ठा धुलोपिठो टिप्पणी गर्नुभयो ।
उहाले लेखा समितिको सभापति प्रतिपक्षीलाई नदिएर अधिकार हनन भएको भन्दै आवश्यक पर्छ भने प्रमुख प्रतिपक्षी दलको नेता पनि आफैसँग राख्न सत्तारुढ दलहरुलाई चुनौती दिनुभयो ।
त्यस्तै प्रचण्डले विद्युत प्राधिकरणले उठाउन बाँकी करिव २२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद्बाटै गर्न सरकारलाई चुनौती दिनुभयो । पैसा उठाउन छाडेर व्यवसायीको लाइन काटेको भन्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने नियतका साथ मन्त्रीपरिषद्बाटै सात दिने स्पष्टीकरण सोधिएको भन्दै उहाले आपत्ति जनाउनुभयो ।
विद्युत् अब यो देशको सबैभन्दा ठूलो आशा भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दस हजार मेगावाट विद्युत् निर्यात र समग्र व्यपार घाटाको सन्तुलन अब धेरै टाढा नरहेको बताउनुभयो ।
त्यस्तै प्रचण्डले मुलुकलाई सहि दिशा दिन यसअघिको सरकारले गरेको कामहरुलाई वर्तमान सरकार भत्काउने काम गरेको आरोप लगाउनुभयो । उहाले संविधान संशोधनका बिषयमा हुने छलफलबाट माओवादी नभाग्ने भन्दै संविधान संशोधनको नाममा कसैको अधिकार हनन हुने काम भए सह्य नहुने स्पष्ट पार्नुभयो ।
