वीरगञ्ज । लोकआस्था, निष्ठा र सूर्य उपासनाको महान् पर्व छठको आज दोस्रो दिन अर्थात् ‘खरना’। चारदिने महापर्वअन्तर्गत हिजो पहिलो दिन ‘नहाय–खाय’ विधि सम्पन्न गरेर पवित्रतापूर्वक व्रतको थालनी गरेका व्रतालुहरू आज दिनभर कठोर उपवास (निर्जलजस्तै) बसिसकेपछि साँझ विधिपूर्वक ‘खरना’ मनाउँदै छन् ।
आज साँझ घरको सरसफाइ गरी चोखो माटोले लिपपोत गरिएको स्थानमा सख्खरको खीर, शुद्ध घिउमा बनाइएको गहुँको रोटी (रसिआव–रोटी), केरा तथा विभिन्न फलफूल र मिष्ठान्न परिकारहरू छठीमाता र कुलदेवतालाई नैवेद्यका रूपमा चढाउने प्रचलन छ । प्रसाद ग्रहण गरेसँगै व्रतालुहरूको ३६ घण्टाभन्दा लामो निर्जला उपवासको कठिन चरण सुरु हुनेछ ।
वीरगञ्जको ऐतिहासिक घडिअर्वा पोखरी, रानीघाट, मुर्ली, छपकैयालगायतका प्रमुख जलाशयहरूमा अहिले झिलीमिली बत्ती जडान र सरसफाइको काम अन्तिम चरणमा पुगेको छ। स्थानीय युवा क्लब तथा स्वयम्सेवकहरूको सक्रियतामा घाटहरूलाई दुलहीझैँ सिंगारिएको छ ।
वीरगञ्ज–१२ मुर्लीकी स्थानीय ५२ वर्षीया रूक्मिणी देवी उपाध्यायले छठीमाताप्रतिको अपार आस्थाले नै आफूहरूलाई कठिन व्रत बस्ने ऊर्जा दिने गरेको बताइन्। “परिवारको सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै हामी विगत १५ वर्षदेखि निरन्तर छठ व्रत बस्दै आएका छौँ,” उनले भनिन्, “घरपरिवारका सबै सदस्यको सहयोग र समाजको यो सद्भावले सबै थकान बिर्साइदिन्छ।”
