वीरगञ्ज । नेपालले त्रिकोणात्मक टी–२०आई सिरिजअन्तर्गत आज दोस्रो खेलमा नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहन्छ । अन्यथा अन्तिम दुई जितसँगै नेटरनरेटमा पनि भर पर्नुपर्ने हुनसक्छ ।
नेपालले आज टोलीमा दुई परिवर्तन गर्ने बलियो सम्भावना छ । अनिल शाह र ललित राजवंशीलाई मौका दिने देखिन्छ । अनिललाई ब्याटिङ र ललितलाई स्पिन बलिङ मजबुत बनाउन मौका दिने देखिन्छ । यी दुई खेलाडीलाई मौका दिँदा नामिबियाविरुद्ध ६ रनमा आउट भएका आसिफ शेख र ५ रन जोडेका सन्दीप जोरा बाहिर हुने देखिन्छ । टोलीमा अन्य परिवर्तनको सम्भावना भने कम छ ।
नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म टी–२० आई खेलमा ९ खेल भएका छन् । समान ४ खेलमा जित र हार नेपालले व्यहोरेको छ । एक खेल वर्षाको कारण रद्द भएको थियो । पछिल्लो पटक नेदरल्यान्ड्स र नेपालबीच टीयुमा त्रिकोणात्मक सिरिजमा २०२१ मा तीन खेल भएका थिए । नेपाल फाइनलसहित दुई खेलमा विजयी भएको थियो । बास डि लिडेले ८१ रनको अविजित इनिङ खेलेपछि २०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १९।३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो ।



