काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टी कार्यालय बनस्थलीमा बुधबार बसेको रास्वपा केन्द्रीय समितिले ढकाललाई साधारण सदस्यसमेतबाट किन कारवाही नगर्ने भन्दै २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले स्थानीय तहमा हुने उपनिर्वाचनमा सहभागी हुने निर्णय समेत गरेको छ । रास्वपा चौथो दल भएकाले स्थानीय तहको उपनिर्वाचन सहभागी हुने र त्यसका लागि आवश्यक तयारी थाल्ने निर्णय भएको झाले बताउनुभयो ।
बैठकले असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्नका लागि केन्द्रीय समितिलाई आयोजक समिति बनाउने निर्णय गर्दै राष्ट्रिय भेला अघि सातै प्रदेशमा बिशेष अभियान सञ्चालन गर्ने कार्यबाहक प्रवक्ता झाले जानकारी दिनुभयो ।
बैठकले भ्रष्टाचार कसुरमा हदम्याद राख्न नहुने अडान रहेको भन्दै अन्य बिषयमा पनि सदनमा शसक्त रुपमा प्रस्तुत हुने निर्णय गरिएको झाले बताउनुभयो । बैठकले संगठन निर्माण सम्बनधी कार्यविधि संशोधन गरेको छ । बैठकमा पार्टी सभापति रवि लामिछानले पछिल्लो राजनीतिक अवस्थाका बारेमा विफ्रिङ गर्नुभएको थियो ।



