काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध प्रतिबन्ध खोल्ने तयारी गरेको छ । यस अघि तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध खुलाउने वर्तमान सरकारले गृहकार्य सुरु गरेको छ ।
तत्कालीन प्रचण्ड सरकारले अश्लिलता र अराजकतालाई प्रश्रय दिएको बताउँदै गत वर्ष कात्तिक २७ गते मन्त्रिपरिषद्को निर्णयबाटै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।
टिकटकमाथि प्रतिबन्ध लगाउँदा प्रचण्ड नेतृत्वको कांग्रेससहितको गठबन्धन सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी रेखा शर्माले सम्हालेकी थिइन् ।
अहिले सत्ता गठबन्धन परिवर्तन भएर कांग्रेस एमालेको नयाँ सरकार बनेपछि टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने सरकारले तयारी थालेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटकमाथिको प्रतिबन्ध हटाउन तालुकदार सञ्चार मन्त्रालयलाई निर्देशन दिइसकेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीको निर्देशन पछि सरकारका प्रवक्ता समेत रहेका सञ्चार सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्ध हटाउन गृहकार्य सुरु गरिसकेका छन् ।
स्रोतका अनुसार सञ्चार मन्त्री गुरुङले टिकटक खुलाउने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने तयारी गरेका छन् । यस अघि मन्त्रिपरिषद्को निर्णयबाटै प्रतिबन्ध लगाइकाले खुलाउन पनि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने सञ्चार मन्त्रीको तयारी रहेको छ ।
टिकटको साउथ एसियन क्षेत्रीय कार्यालयले नेपालको कानून परिपालना गरेर सञ्चालन गर्न तयार रहेको पत्र सञ्चार मन्त्रालयमा पठाइसकेकाले आगामी मन्त्रिपरिषद्को बैठकबाट टिकटक खुलाउने प्रस्ताव पारित गर्नेगरी तयारी थालिएको सञ्चार मन्त्रालयले जनाएको छ ।
सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले टिकटक खुलाउन टिकटकको साउथ एसियन क्षेत्रीय कार्यालयबाट पत्र आएको र सो पत्रको अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिए ।
