वीरगञ्ज । प्रतिवन्धित लागुऔषधीसहित प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज–२८ बगही बस्ने १९ वर्षका अनिकेत दुवेदी रहेका छन् । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरी टोलीले उनलाई वीरगञ्ज–१४ गण्डक चोस्थित सडकखण्डबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । सिमरातर्फ पैदल जाँदै गरेका उनलाई प्रहरीले शंका लागेर जाँच गरेको थियो ।
सोही क्रममा लुकाईछिपाई राखिएको अवस्थामा उनले बोकेको पर्सबाट लागुऔषध बरामद भएको मधेश प्रदेश प्रहरीका प्रवक्ता श्याम महतोले जनाए। उनको साथबाट लागुऔषध नाईट्राभेट ट्याब्लेट ६ पिस र नाईट्रोजेपाम ट्याब्लेट १० पिस फेला पारेको प्रवक्ता महतोले बताए । लागुऔषधी अनिकेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि वडा प्रहरी कार्यालय श्रीपुरको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।



