काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले भिजिट भिसाको दुरुपयोग रोक्न नियमनबाहेक अन्य कुनै बिकल्प नरहेको बताउनुभएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा मन्त्री भण्डारीले भिजिट भिसाको दुरुपयोग रोक्नका लागि सरकार गम्भीर रहेको भन्दै यसलाइ रोक्न अनुगमनबाहेक अरु कुनै बिकल्प नरहेको बताउनुभएको हो । उहाले श्रम सम्झौताका दुइपक्षीय सम्झौता गर्दा नेपाली कामदारको हकअधिकारलाई ध्यान दिइने उल्लेख गर्नुभयो ।
मन्त्री भण्डारीले दुई वर्षसम्म वार्षिक १०० जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने म्यानपावर व्यवसायीको नवीकरण नगर्ने व्यवस्था रहेको भएपनि विविध परिस्थितिका कारण सरकारले बाधा अड्काउ फुकाऊ मार्फत नवीकरण गर्नु परिरहेको जिकिर गर्नुभयो ।
आप्रवासन सम्बन्धी राष्ट्रिय नीतिको मस्यौदा तयार भइसकेको जानकारी दिदै उहाले यसले नेपाली कामदारलाई थप सुरक्षित र व्यवस्थीत हुने बताउनुभयो ।
मन्त्री भण्डारीले इजरायलमा केयरगिभरमा नेपाली कामदार लैजाने क्रममा समस्या र गुनासो आइरहेको भन्दै भाषा, सिप लगाएतको प्रमाणपत्र दिने संस्थामाथि छानविन गर्न छानविन समिति बनाएको जानकारी दिनुभयो ।
