वीरगञ्ज । साउन महिना अर्थात हरिया चुरा पोते, सात्विक खाना र शिवको उपासनाको महिना । शिवको अति प्रिय महिना साउनका पहिलो सोमबार आज बडो भक्तिपुर्वक मनाईंदै छ ।
शिवालय तथातीर्थ स्थलसँगको सामिप्यता जगाउने तथा सूर्य दक्षिणायनपछि विशेष चार्डपर्वको सुरुवातको संकेत गर्ने पूर्वीय संस्कृतिमा साउन महिना आफैमा विशेष महत्वपूर्ण छ । साउनको महिना भित्र पनि सोमबार बढि पवित्र तथा महत्वपूर्ण मानिन्छ ।
साउन महिनाको सोमबार शिवको प्रिय दिन हो । यस दिन शिवको पूजाआजा गर्दा मनोकाँक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि भक्तजनहरु शिवमन्दिरमा गएर पूजाआजा गर्ने गर्छन् ।
विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहेन्दी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्छन् । साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा महिलाहरुले चुरा–पोते लगाएर शिवको पूजा गर्दछन् ।
महत्व साउने सोमबारको
अत्यन्तै पवित्र महिना साउन र त्यसमा पनि सोमबार विशेष मानी भगवान् शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ । ज्योतिषशास्त्रअनुसार सोमवारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ ।
अझ यो महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ । हस्ता नक्षत्रयुक्त सोमवारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा उल्लेख भएको पाइन्छ ।
साउने सोमबारको व्रतलाई विशेष तरिकाले उत्सवका रूपमा मनाउने गरिएको पाइन्छ । व्रत नबस्ने महिलाहरु पनि हरियो, पहेलो चुरा र मेहन्दी लगाउने हुँदा पारचुन बजार हरिया भएको देख्न सकिन्छ ।
देशभरका शिवालयमा हरियो चुरा, पोते र रातो पहिरनमा सजिएका युवती तथा महिलाको भीड लाग्छ । त्यसैगरी साउन महिनाका सोमबार बोलबम भन्दै महिला तथा पुरुष भक्तजनले पवित्र जल शिवालयहरुमा अर्पण गर्ने परम्परा पनि छ ।
