काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बलिया पार्टीले काँध थाप्दा पनि अघिल्लो सरकारले लय नसमातेका कारण नयाँ सरकार गठन गर्नुपरेको बताउनुभएको छ ।
आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले यसअघि कहिले कांग्रेस र कहिले एमालेले काँध थाप्दा पनि माओवादी नेतृत्वको सरकारले लय समात्न नसकेको र त्यसको प्रयास पनि नगरेका कारण नयाँ सरकार गठन गर्नुपरेको बताउनुभएको हो ।
सरकारकै कारण समाजमा दूषित परिणाम देखिने संकेत आएकाले देशलाई त्यसबाट जोगाउनका लागि कांग्रेस–एमालेबीच समिकरण बनेको उहाले बताउनुभयो । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकार गठनका लागि दुईदलबीच भएको साँत बँदे सहमति पनि सार्वजनिक गर्नुभयो ।
सरकारको नेतृत्व आलोपालो गर्ने, भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न साझा कार्यक्रम तय गर्ने लगाएतका सहमति दुईदलबीच भएको भन्दै उहाले यसमा लुकाउनुपर्ने केहि नभएको जिकिर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचार पूर्णरुपमा अन्त्य गर्नेगरि सरकारले काम गर्ने, सहकारी ठगि गर्ने जोसुकैलाई कारवाही गर्ने समेत बताउनुभयो । उहाले दुई तिहाईको बलमा नभइ देशको आवश्यकताका आधारमा सर्वसम्मत ढंगले संविधान संशोधन गर्ने उल्लेख गर्दै संविधान संशोधनबाट तर्सिनुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।
उहाले जनतामा उत्साहको सञ्चार गर्न र देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको पनि बताउनु भयो । विकास निर्माणको काममा रहेको बेथिति अन्त्य, आर्थिक रुपमा मितव्ययी बन्दै राज्यको तर्फबाट खर्च गर्ने क्षमता वृद्धि तथा जनअपेक्षा अनुसार कानुनमा सुधार गर्ने उहाले बताउनुभयो ।
